चन्द्र बाेहरा खजुरा बाँके
पूर्वाधार विकास निर्माणमा बाँकेको खजुरा अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको हो । गाउँपालिकाले १३ओैं गाउँसभाबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा तदारुकता देखाएको छ ।
पुँजीगततर्फका विकास आयोजनालाई समयमै छिटोछरितो र पारदर्शी रुपमा निर्माण सम्पन्न गर्न अनुगमन तथा मूल्यांकनको कामलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । पालिकाले चालू आर्थिक वर्ष २०८०/८१मा विनियोजित वार्षिक बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएको हो ।

जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले विगत वर्षका अधुरा कामहरुलाई पूर्णता दिने र दीगो विकासका नयाँ आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न तदारुकता देखाएको छ । स्थानीय तहको कार्यसम्पादनमा सुधार ल्याउने गाउँपालिकाको लक्ष्य छ ।
गत फागुन ३ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा खजुराले ५५.८८ प्रतिशत अंक पाएको थियो । विभिन्न १७ वटा सूचकका आधारमा आयोगले स्थानीय तहले प्राप्त गरेको मूल्यांकनका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण तथा विषेश अनुदान रकमको बाँडफाँड गर्ने गर्दछ । सोही आधारमा सूचकमा सुधार भए आगामी वर्षको बजेट बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित भई निर्माण भइरहेका आयोजनाको अनुगमनलाई तीव्रता दिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, बिजुली र पर्यटनका क्षेत्रमा लक्ष्यअनुरुप क्रमिक विकास र सुधारलाई प्राथमिकता दिएको हो । राजस्व संकलनलाई छिटोछरितो, सरल र प्रविधिमैत्री बनाउन अनलाइन करदाता पोर्टलको शुरुवात गरिएको छ ।
आयोजनाको अनुगमनलाई तीव्रता

यस्तै, पालिका अन्तर्गतका सबै वडामा खानेपानीको सुविधा पुर्याउने लक्ष्य अनुसार निर्माणाधीन अधुरा खानेपानी आयोजनालाई पूर्णता दिने र सबै घरधुरीमा आगामी तीन वर्षभित्र शुद्ध खानेपानी विस्तार र कार्यान्वयनको चरणमा लैजाने गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताए ।
गाउँपालिकामा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका आयोजना चालु आर्थिक वर्ष अगावै सम्पन्न गरिने उपाध्यक्ष मन्जु मल्लको भनाइ छ ।
यस्तै, शैक्षिक विकासका लागि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ ।
शिक्षा तथा खेलकुदतर्फ ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ को अवधारणालाई सार्थक बनाउन पालिकाले शैक्षिक विकास र गुणस्तर सुधारमा विषेश जोड दिएको छ । स्थानीय सरकारले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ स्थानीय राजपत्रमा प्रकाशन गरि कार्यान्वयनमा ल्याएसँगै ३० वटै सामुदायिक विद्यालयमा आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क तथा अनिवार्य शिक्षाको अवधारणा लागू गरिने भएको छ ।
जसअनुसार स्थानीय शिक्षा ऐन कार्यान्ययन गर्न सबै विद्यालय र सरोकारवाला निकायलाई परिपत्र गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बताए ।

गाउँपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा दिइरहेको छ । जसमा केही निर्माण सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा छन् । त्यस्तै, कुल ५ करोड ३६ लाख ४हजार ७ सय ४६ रुपैयाँमा गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन ऐलानी/प्रति जग्गाको नाप नक्सांकन, निस्सा वितरण र नापी कार्य भइरहेको छ ।
स्वास्थ्यतर्फ सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यसहित सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण, जनशक्ति तथा औषधी व्यस्थापनमा जोड दिइएको छ ।त्यस्तै खजुरा गाउँपालिकाले संचालन गरेको ‘जेष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम ल्याएको थियो । स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ
यस्तै, ११करोड, ८२ लाख २२ हजार ३८५.४०रुपैयाँ लागतमा १५ शय्याको आधारभूत अस्पतालको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । अस्पतालको आगामी बैशाखदेखि नागरिकलाई चौबीसै घण्टा सेवा प्रवाह गर्ने गरी सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताए ।

यातायात पूर्वाधारतर्फ ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रेको काम ठेक्का सम्झौता भइ निर्माण भइरहेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा चालू आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारको समपूरक अनुदानबाट ६ किलोमिटर सडक कालोपत्रेको काम अघि बढाइएको छ। पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’ सहित पर्यटकीयस्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे र वडा नम्बर २मा सहिदपार्क बनाउन लागेकाे छ ।
गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्नका लागि सहज होस भनेर भ्याकहु लाेडर र राेलर जसिबी खरिद गरेको छ ।

Discussion about this post